काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
देउवाले प्रत्यासी डा. शेखर कोइराला विरुद्ध २ हजार ७ सय २४ मत ल्याएर चुनाव जितेका हुन् । कोइरालाले १ हजार ८ सय १७ मत पाए ।
मंसिर २४ गते सुरु भएको महाधिवेशनको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि हिजो दोस्रो चरणको निर्वाचन भएको थियो ।
हिजो भएको मतदानमा ३३ मत बदर भएका छन् । दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।
सोमबार भएको पहिलो चरणको मतदानमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो। कांग्रेस महाधिवेशनमा देशभरका ४७४३ मतदाता रहेका थिए।
कांग्रेसले यसपटक नेतृत्व परिवर्तनको जबर्जस्त एजेण्डा उठाएको थियो । गगन थापा लगायतका नेताले थपिएका २० लाख नयाँ मतदातालाई आकर्षित गर्न नेतृत्व परिर्वतनको एजेण्डा उठाएका थिए ।
तर नेतृत्व परिवर्तनको मुद्दाले समेत देउवाको उदयलाई रोक्न सकेन । सभापतिको निर्वाचन परिणामले कांग्रेसमा परिवर्तन चाहनेहरु भने निराश भएका छन् ।
सभापतिको मतगणनापछि पदाधिकारी र अन्य सदस्यको मतगणना भोलिबाट शुरु हुने निर्वाचन समितिले जनाएको छ ।