बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रधानमन्त्री एवं सभापतिका उम्मेदवार देउवा मतदान स्थलमा

सोमबार, मंसिर २७ २०७८

काठमाडौँ l नेपाली कांग्रेसको नेतृत्वका छान्नका लागि जारी १४औँ महाधिवेशनमा मतदानका लागि प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा मतदानस्थल पुगेका छन्।

केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि तोकिएको समयभन्दा करिब तीन घण्टा ढिला गरी मतदान सुरु भएको छ। आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि केहीबेर अघि मात्र मतदान सुरु भएको छ।

पहिलो मतदान पूर्व-महामन्त्री कुलबहादुर गुरुङले  गरेका छन्। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन्।

सभापतिका अन्य दुई उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंहले भने बिहानैदेखि मतदानस्थलमै बसेर प्रतिनिधिहरूसँग भोट मागिरहेका छन्।​

निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो। भृकुटीमण्डप परिसरमा पार्टी, सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका उम्मेदवारले सांस्कृतिक, बाजागाजासहित प्रचारप्रसार गरेर मत मागिरहेको दृश्य देख्‍न सकिन्छ।