काठमाडौँ l सत्तारुढ दल नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा शनिवार परेका उम्मेदवारी फिर्ता लिन आईतवार बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।
आईतवार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । सोमवार बिहान ८ बजेदेखि मतदान हुने जनाइएको छ ।
राष्ट्रिय सभागृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डप गरी ३ स्थानमा मतदानको व्यवस्था मिलाइने भएको छ । मतदान मतपत्रमार्फत गर्नुपर्ने छ ।
विद्युतीय मतदानको व्यवस्था गर्ने भनिएको भए पनि हुन नसकेको कांग्रेसले जनाएको छ । मतदान गर्न १ जनालाई ४५ मिनेटभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिका १३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।