शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आफ्नो पार्टीको माग सम्बोधन गर्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ठाकुरको माग

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसबाट देशलाई ठूलो आशा रहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुगेका अध्यक्ष ठाकुरले कांग्रेसबाट देश र अन्य राजनीतिक दलहरुले ठूलो आशा राखेको बताएका हुन् ।

राजनीतिक दलमा भएको विचलनका कारण जनताले दुःख पाइरहेको भन्दै उनले राजनीतिक दलहरुले आफूलाई सुधार्दै लग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ठाकुरले न्यायपालिका र व्यवस्थापिकामा समस्या देखिएको भन्दै त्यसको छिटोभन्दा छिटो समाधान भए मात्रै जनतालाई सहज हुने बताए ।

वर्तमान संविधानसँग आफूहरुको असन्तुष्टि रहेको भन्दै अध्यक्ष ठाकुरले संविधानप्रति असन्तुष्टि प्रकट गर्दा भएका आन्दोलनकारी आफ्ना नेता तथा कार्यकर्तालाई जेलबाट निकाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।

अध्यक्ष ठाकुरले आफ्ना केही माग सम्बोधन गरेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए ।

आफूहरुले धेरै समय कुरेको र धेरै समय झुलाइएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले छिटोभन्दा छिटो समस्या समाधान गर्न आग्रह गरे । अन्यथा ज्वालामुखीको रुपमा आफ्नो पार्टी सडकमा आउने उनको चेतावनी थियो ।