काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज देखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको उद्घाटन हुने छ ।
महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट करिब ४४ सय महाधिवेशन प्रतिनिधिसहित कांग्रेस कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन् ।
उम्मेद्वार नेताहरूले आफ्नो पक्षमा भोट माग्नेक्रम पनि सुरू भइसकेको छ । उद्घाटन समारोह सकिएसँगै भोलीदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
कांग्रेसले संसदमा प्रतिनिधित्त्व गर्ने सबै राजनीति दलका प्रमुखसँगै विदेशी राजनीतिक दलका प्रतिनिधिहरूलाई समेत निम्तो गरेको छ ।
पछिल्लो समय एक अर्काप्रति कटु आलोचक रहदै आएका नेताहरु आज एउटै मञ्चमा देखिने सम्भावना कांग्रेस महाधिवेशनको रोचक पक्ष हुने छ ।
एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एउटै मञ्चमा नदेखिएको धेरै भएको छ । त्यसैले पनि कांग्रेसको महाधिवेशनमा उनीहरुको उपस्थितीलाई लिएर आम चासो बढेको छ ।
यद्यपी एमाले अध्यक्ष ओली भने हिजैदेखि रुघा लागेकाले घरमै आराम गरिरहेका छन् ।
ओलीको उपस्थिती हुने नहुनेमा एमालेले केहि बताएको छैन ।
चितवनमा सम्पन्न एमालेको महाधिवेशनमा माधव नेपाल बाहेक मुख्य राजनीति दलका सबैलाई निम्तो गरिएको थियो । तर, एमालेको महाधिवेशनमा भने सत्ता गठबन्धनका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव मात्र पुग्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नगएर पार्टीले उपाध्यक्षा लिलामणि पोख्रेललाई पठाउनुभएको थियो ।
भारतबाट भारतीय जनता पार्टी, कांग्रेस आईका प्रतिनिधि र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि आउने महाधिवेशन प्रचार प्रसार समितिले जनाएको छ ।