काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको संघारमा केन्द्रीय कार्य-समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा विहान साँढे ११ बजे बस्ने बैठक यो कार्यकालको सम्भवतः अन्तिम हुने छ । भोलिदेखि काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन सुरु हुदैछ ।
आजको बैठकमा महाधिवेशनको तयारीलगायतमा छलफल हुने सो पार्टीले जनाएको छ । पदाधिकारीमा आकांक्षी धेरैभएपछि पार्टीले सहमहामन्त्री थप गरेर नेताहरुलाई व्यवस्थापन गर्ने योजना बनाएको छ ।
आजको बैठकमा यो विषयले पनि प्रवेश पाउने सभापति शेरवहादुर देउवा निकट एक नेताको भनाई छ । नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूबिच छलफल चलिरहेको छ ।
कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री रहने व्यवस्था छ । तर खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना खुलातर्फ सहमहामन्त्री पद राखिनुपर्ने माग उठेको छ ।
साढे चारलाख संगठित सदस्य हुँदा १६८ केन्द्रीय सदस्य रहेकोमा अहिले यो संख्या बढेर साढे आठ लाख नाघेकाले केन्द्रीय सदस्यको संख्या पनि बढाउनु पर्ने कांग्रेसमा माग उठ्दै आएको छ ।
कांग्रेसले लामो समयपछि केन्द्रीय कार्यालयमा बैठक राखेको हो ।
क्रियाशील सदस्यतालगायत विवादले कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना दिइरहेपछि सभापति देउवाकै निवास बूढानिलकण्ठमा बैठक बस्ने गरेको थियो ।
आज भने बैठक सानेपामा बस्ने छ ।