काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट महामन्त्री डा. शशांक कोइरालाले सभापतिको दौड त्याग गरेका छन्। उक्त पदको दौडमा रहेका आफ्ना दाजु तथा केन्द्रीय सदस्य शेखर कोइरालाको नाममा सहमति जुट्ने भएपछि उनले छाडेका हुन्।
मंगलबार अबेरसम्म साझा र सहमतिको उम्मेदवार उठाउने विषयमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा रामचन्द्र पौडेल पक्षको बैठक भएको थियो। शशांक सभापतिको दौडबाट हटेपछि पौडेल, सिंह र शेखर अब मैदानमा छन्।
सहमतिमा सभापतिको उम्मेदवार तय गर्नका लागि बुधबार फेरि पनि बैठक डाकिएको थियो। २४ मंसिरदेखि महाधिवेशन सुरु हुनेछ। उम्मेदवारी दर्ता २५ मंसिरका लागि तय भएको छ।
‘डेढ बर्षसम्म पौडेलले सभापतिको नेतृत्व गर्ने र त्यसपछि शेखरलाई हस्तान्तरण गर्ने वाचा गरेपछि शशांक मैदानबाट बाहिरिएका हुन्’, स्रोतले भन्यो,‘तर त्यसो हुनेमा शंका छ।’
शेखरलाई सभापतिको दौडबाट हटाउन खोजेको खण्डमा उनले युवा नेताहरूको अलग प्यानल बनाएर मैदानमा उत्रिने तयारी गरेका छन्। त्यसका लागि शेखरसँगै गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतको अर्को टिम तयार हुनेछ।