काठमाडौं। चरम परम्परागत शक्तिका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अभूतपूर्व रुपमा नेतृत्वमा पुस्तान्तरण गरेको छ। तीन दिनसम्म काठमाडौंमा भएको महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गराएको छ।
लिङ्देनको यो उदय पार्टी राजनीतिमा पुस्तान्तरणको गतिलो उदाहरण रहेको धेरैको प्रतिक्रिया रहेको छ। अध्यक्षमा लिङ्देनले कमल थापालाई चुनौति दिएका थिए।
लिङ्देनको उदयले सत्ता र प्रतिपक्षमा रहेका दलभित्र चलेको पुस्तान्तरणको बहसलाई अझ बलियोगरी चर्चा गराउने अनुमान गरिएको छ। नेपाली कांग्रेस नयाँ नेतृत्व छनौटको चरणमा रहेका बेला लिङ्देनको उदयले मनोवैज्ञानिक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
एमाले प्रतिनिधिले केपी शर्मा ओलीलाई अर्को कार्यकाल जिताएको तथा कांग्रेसमा पनि पुराना नेता नै सभापतिका लागि ओथारो बस्ने प्रवृत्तिलाई चुनौति दिँदै परम्परावादी राप्रपाले लिङ्देनलाई अध्यक्षमा जिताउनु व्यवाहारिक रुपमा पुस्तान्तरणको बहसले मूर्त रुप पाएको बताइएको छ।
पार्टी विभाजन र एकीकरणका विविध चरण पार गर्दा पनि अध्यक्षमा एकाधिकार जमाउँदै आएका थापाले आफूलाई निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले पराजित गरेको आरोप लगाएका छन्। तर राप्रपाका पदाधिकारी त्यसलाई स्वीकार्न तयार छैनन्। एकता महाधिवेशन भएका कारण राप्रपाका बरिष्ठ नेताहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि नेतृत्वमा दाबी नगर्दा थापा अघि बढेका थिए। संस्थापक नेता लोकेन्द्रबहादुर चन्दसहित राणा र लोहनीको समर्थन लिङ्देनका लागि थियो।
देशभरबाट आएका प्रतिनिधिले विवेकपूर्ण हिसाबले नेतृत्व परिवर्तनका निम्ति चाहना राख्दा थापाको पराजय भयो। तर, उनी पक्षधरका नेताहरु केन्द्रीय समितिमा ठूलो संख्यामा आउँदा प्रतिनिधिले मूल नेतृत्वमा पुस्तान्तरण चाहेको स्पष्ट भएको छ।
सत्ता र शक्तिमा रहनका लागि थापाले जहिले पनि अवसरवादी चरित्रलाई कायम राख्नका लागि पार्टी विभाजन र जनमतको दुरुपयोग गरेका थिए। उनले सत्ता र शक्तिमा रहनका लागि राप्रपा विभाजन गरी राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्रीको लाभ उठाए। हिन्दूत्व र राजसंस्थावादी भनिए पनि उनले त्यसको बचाऊका निम्ति प्रभावकारी उपस्थिति जनाउन सकेनन्।
गणतन्त्र नेपालमा हिन्दूत्व चाहनेले दोस्रो संविधानसभाको चुनावमा ठूलो शक्तिका रुपमा स्थापित गरे पनि तत्कालिन केपी शर्मा ओलीको सरकारमा सहभागी भएर भूमिकाको दुरुपयोग गरे जसको चर्को आलोचना भएको थियो।
प्रतिनिधि सभामा तेस्रो शक्तिको रुपमा रहेको राप्रपाको गिर्दो भविष्य बनाउने काम थापाले गरेका थिए। नेतृत्वमा एकाधिकार जमाउन र अध्यक्ष बन्नका लागि उनले पार्टी विभाजनको खेलमा सँधै सक्रियता देखाए जसको जवाफ एकता महाधिवेशनमा प्रतिनिधिले दिएका हुन्। अध्यक्षमा निर्वाचित लिङ्देनलाई तिनै प्रतिनिधिले साथ दिए जसले विभाजन रुचाएका थिएनन्।
सत्ता प्राप्तिका निम्ति थापाले गणतन्त्र नेपालको संविधान स्वीकार गरेका थिए। दोस्रो संविधानसभाले संविधान जारी गर्दा उनले नोट अफ डिसेन्ट सम्म नलेख्नु पनि कारण रहेको बताइएको छ। संविधानमा साथ दिएपछि उनी पछि एमाले नेतृत्वको ओली सरकारमा सहभागी भएका थिए।
पार्टीभित्र लिङ्देनले महामन्त्री रहँदा थापाका यी सबै निर्णयविरुद्ध बहस चलाउँदै आएका थिए। दुई बर्षअघिको एकीकरण घोषणाका क्रममा लिङ्देनले यी तमाम सवाल उठाएका थिए भने महाधिवेशनमा नेतृत्व परिवर्तनका निम्ति पनि बहस छेडेका थिए। परिवर्तन चाहने धवल शमशेर राणासहितका नेता लिङ्दनेको पक्षमा उभिएका थिए।