काठमाडौं। सभापतिका आकांक्षी चार जना नेताले सहमतिमा साझा उम्मेदवार तय नगरे संस्थापनइतरका युवाहरूले उपसभापतिसहितको प्यानल घोषणा गरेर मैदानमा जाने चेतावनी दिएका छन्।
बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका युवा नेताले २३ मंसिरसम्म सभापतिका लागि साझा उम्मेदवार तय गर्न डेटलाइन तोकेका हुन्। पौडेलसहित सभापतिका आकांक्षी महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालालाई यस्तो चेतावनी दिएका हुन्।
चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङलगायतका नेताले उक्त चेतावनी दिँदै डेटलाइनभित्र सहमति जुटाउन भनेका छन्। अन्यथा दुई उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्षसहितको टिम घोषणा गरेर अघि बढ्ने चेतावनी दिएका हुन्।
युवाको पालो आएको भन्दै शेखर कोइराला टिम बनाउन कस्सिएका छन्। तर, अन्यको नाममा साझा उम्मेदवारमा सहमति भए उनी ब्याक हुने तयारीमा समेत रहेका छन्।
युवा नेताको चेतावनीपछि साझा उम्मेदवार तय गर्नका लागि मंगलबार पौडेल पक्षका केन्द्रीय सदस्यसहितको बैठक सिंहनिवास चाक्सीबारीमा डाकिएको छ।