शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विचलित कमल थापाले अब कुन बाटाे राेज्लान् ?

सोमबार, मंसिर २० २०७८

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले सायदै सोचेका थिए कि कुनै बेला आफैंद्वारा केन्द्रीय सदस्यमा मनोनित राजेन्द्र लिङ्देनले पार्टीबाट पाखा लगाइदिने छन् । काठमाडौंमा सम्पन्न एकता महाधिवेशनको मतदानपूर्व पनि थापाले लिङ्देनलाई ‘काँचो नेतृत्व’ को संज्ञा दिएर मनोवैज्ञानिक दबाब बढाइरहे ।

तर, परिणाममा काँचो नेतृत्वका सामु उनको कुनै जोर चलेन । उनी पराजित भए । वर्षौं राज गरेको राप्रपाबाट हठात् बाहिरिनु पर्दा थापा निकै विचलित देखिन्छन् । सामाजिक सञ्जालमा खर्चिएका शब्दले पनि उनलाई पराजयको पीडा सहन निकै कठिन परेको देखाउँछ ।

थापाको एउटा स्वभाव छ– जुनसुकै हत्कण्डा प्रयोग गरेर भए पनि सत्ता र शक्तिमा पुगिहाल्ने । यही कारण सहयात्रीले उनलाई मुसा प्रवृत्तिको संज्ञा दिने गरेका छन् । राप्रपा नेतृत्वबाट हठात् पाखा लागेपछि थापाको आगामी यात्राबारे चासो बढेको देखिन्छ । कतिपयले उनको हारसँगै राप्रपा सग्लो नरहने लख काट्नसमेत भ्याइसकेका छन् ।

कमल थापाको अगाडि अब तीन विकल्प बाँकी छ । पहिलो, राजनीतिबाट सन्यास, दोस्रो हार स्वीकारेर राप्रपामै रहने र तेस्रो अलग पार्टी बनाउने ।

स्वभावगत विशेषताका कारण थापा पहिलो विकल्पमा जाने सम्भावना निकै कम छ । पुरानो नेतृत्व पाखा लगाउनुपर्ने लिङ्देनको काउन्टरमा उनले खुला मञ्चमा दौडन गरेको आमन्त्रणले पनि उनी तत्काल राजनीतिबाट अवकाश नलिने मनस्थितिमा रहेको प्रष्ट हुन्छ ।
 
हार स्वीकारेर आफ्ना समकालीन पशुपतिशमशेर जवरा, प्रकाशचन्द्र लोहनीजस्तै अभिभावकीय भूमिकामा रहने सुविधा थापासँग अहिले उपलब्ध छ । चुनावी परिणामले पनि उनलाई यस्तै भूमिकामा देख्न चाहेको छ । तर के यस्तो भूमिकामा खुम्चिन थापा तयार होलान् ?

जानकारहरू मुखियाबिना कहीँ पनि टिक्न नसक्ने थापाको स्वभाव रहेकाले यस्तो सम्भावना निकै कम देख्छन् । ‘जसरी हुन्छ सत्ता र शक्तिमा पुग्ने कमल थापाको चरित्र हो,’ राप्रपाका एक नेता भन्छन्, ‘हार स्वीकारेर राणा र लोहनीजस्तै अभिभावकीय भूमिकामा थापा बस्ने सम्भावना निकै कम छ ।’
 
थापा आफैंले यो महाधिवेशनलाई एकता महाधिवेशनको नाम दिएका थिए । यदि उनी एकीकृत राप्रपाको पक्षपाती हुन् भने यसबाट पछि हट्ने सुविधा उनलाई छैन । तर हारका कारण थापामा बढेको छट्पटीले उनी विभाजनतर्फ नजालान् भन्न सकिन्न । तर विभाजनमा गइहाल्न पनि सोचेजस्तो सहज छैन । किनभने, त्यसका लागि उनलाई अरूको साथ चाहिन्छ ।

महाधिवेशनबाट नेतृत्व र केन्द्रीय समितिमा दुवै पक्षको आधाआधा हिस्सा विजयी भएको बताइएको छ । उनको समूहबाट विजयी भएकामध्ये केही परिस्थितिजन्य बाध्यताले एउटै कित्तामा उभिएको देखिन्छ ।

त्यसैले देशभरका महाधिवेशन प्रतिनिधिले गरेको विश्वासलाई रद्दीको टोकरीमा मिल्काएर उनको समूहका सबै उनले बनाउने नयाँ पार्टीमा सामेल हुने सम्भावना निकै कम छ । तर पदाधिकारी र केन्द्रीय समितिमा विजयीमध्ये केही थापाका एसम्यान रहेकाले तिनको साथ लिएर थापाले अर्को पसल खोल्न सक्छन् । साघुँ साप्ताहिकमा खबर छ l