काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको प्रक्रियाअनुसार शनिबार ६ प्रदेशका सभापतिसहितका पदाधिकारी छानिने भएका छन्। त्यसका लागि मतदान सुरु भइसकेको छ। प्रदेश २ बाहेकमा भइरहेको अधिवेशनमा त्रिपक्षीय र दुईपक्षीय भिडन्त जारी छन्।
बागमती प्रदेशमा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरको भिडन्त भइरहेको छ भने अन्य ५ मा भने देउवा र पौडेल समूहको भिडन्त हुँदैछ।
उद्धव थापाले प्रदेश १ को सभापतिमा दिएको उम्मेदवारीलाई देउवा पक्षले समर्थन जनाएको छ। पौडेल पक्षबाट केन्द्रीय सदस्य गुरुराज घिमिरे उम्मेदवार बनेका छन् ।
संस्थापन पक्षबाट मकवानपुरका जिल्ला सभापति ईन्द्र बानियाँ प्रदेश सभापतिका उम्मेदवार हुन् भने जगदीश्वरनरसिंह केसी पौडेल पक्षका दाबेदार हुन्। सिटौला पक्षबाट पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रदेश सभापतिको प्रत्यासी छन्।
गण्डकीमा केन्द्रीय सदस्य अर्जुन जोशी देउवा समूहको प्रतिनिधित्व गरी सभापतिमा लडेका छन् भने शुक्रराज शर्माले पौडेल समूहको फेरो समातेका छन्।
लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरत शाह सभापतिको प्रत्यासी रहेका छन्। त्यस्तै संस्थापनइतरबाट अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिएका छन्।
कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितजङ्ग शाही र भूपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन्। भूपेन्द्रले संस्थापनइतरको नेतृत्व गरेका छन्।
सुदुरपश्चिममा केन्द्रीय सदस्य वीरबहादुर बलायर संस्थापन पक्षबाट प्रदेश सभापतिको उम्मेदवार बनेका छन् भने उनीसँग नारायणदत्त मिश्रलाई सभापतिको उम्मेदवार बनाएको छ।