काठमाडौं । आज एकैसाथ हुन लागेको कांग्रेसको प्रदेश अधिवेशनमा संस्थापन र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानलसहितका उम्मेद्वार नेतृत्वकालागि चुनावी मैदानमा उत्रिएका छन् ।
संघियता कार्यान्वयन पछि पहिलोपटक प्रदेश अधिवेशन हुन लागेको कांग्रेसमा स्थानीय तहदेखि नै प्यानलसहितको चुनावी प्रतिष्पर्धा हुदै आएको छ ।
प्रदेश अधिवेशनको हिजै सभापति शेरवहादुर देउवाले भर्चुअल उद्घाटन गरिसकेका छन् । सात वटै प्रदेशमा दुबै समूहले प्यानलसहित नै उम्मेद्वार खडा गरेका छन् ।
प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा तथा पौडेल समूहबाट गुरूराज घिमिरेको प्रतिष्पर्धा हुदैछ । प्रदेश एकमा नेता कृष्णप्रसाद सिटौलाले देउवा समूहलाई साथ दिएपछि त्यहा संस्थापन पक्ष बलियो हुने देखिएको छ ।
प्रदेश नम्बर २ मा रामसरोज यादव, महेन्द्रकुमार राय, दिनेशकुमार यादव र कृष्णा यादवले सभापतिका लागि दाबी गरेका छन् । बागमती प्रदेशमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
सभापति देउवा पक्षबाट संसदीय दलका नेतासमेत रहेका मकवानपुरका सभापति ईन्द्र बानियाँ, पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधान सभापति पदका उम्मेदवार छन् । गण्डकी प्रदेशमा सभापति देउवा पक्षले अर्जुन जोशीलाई सभापति पदमा उठाएको छ भने पौडेल पक्षले शुक्रराज शर्मालाई सभापतिमा अगाडि सारेको छ ।
लुम्बिनीमा देउवा पक्षबाट सांसद भरत शाह र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन मगर प्रतिस्पर्धामा उत्रने भएका छन् । कर्णाली प्रदेशमा देउवा पक्षबाट ललितजंग शाही र पौडेल पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापति पदका उम्मेदवार छन् ।
सुदूरपश्चिम प्रदेशमा देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, अर्जुन सिंहलगायतको नाम चर्चामा छ । पौडेल पक्षबाट भरत खड्का र कमल शाह प्रदेश सभापतिका आकांक्षी छन् ।
आज उम्मेदवारहरूको मनोनयन दर्ता सकेर भोलि चुनाव गर्ने तयारी कांग्रेसको छ ।