बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राप्रपा नयाँ नेतृत्वमा कसलाई छ निर्मल निवासको साथ?

शुक्रबार, मंसिर १७ २०७८

काठमाडौं। राजधानीको भृकुटीमण्डमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ता हुने भएको छ। अघिल्लो निर्वाचनमा खिएको पार्टीले ठूलो जनमत निर्माण गर्ने प्रण गरेको छ।

हिन्दूत्व र राजसंस्थाको वकालत गरिरहेका कारण राप्रपाको महाधिवेशनले ल्याउने नयाँ नेतृत्वका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि चासोका साथ लिएको बताइएको छ। महाधिवेशन उद्घाटनपूर्व राप्रपाका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले निर्मल निवासमा शाहलाई भेट गरेको बताइएको छ।

राजसंस्था पक्षधरहरू सबै धार्मिक, सामाजिक र विविध संगठनलाई पनि एकताबद्ध गराउनेगरी अघि बढाउनका लागि लिङ्देनलाई पूर्वराजा शाहको साथ रहेको बताइएको छ। यसैकारण पनि उद्घाटन सत्रमा लिङ्देनले सो विषयको संकेत गरेका थिए।

कमल थापामाथि अविश्वास किन?

निर्मल निवासले अध्यक्ष रहेका कमल थापामाथि अविश्वास गरेको छ। ०७० सालमा राप्रपाले ल्याएको जनमत राजसंस्थाका निम्ति आए पनि त्यसको दुरुपयोग गर्दै सत्तामा गएदेखि निर्मल निवास थापासँग असन्तुष्ट रहँदै आएको थियो।

त्यसो त राजसंस्था तथा कट्टर हिन्दूवादी अन्य विभिन्न संघ संगठनले पनि थापाले राप्रपाको लाइन विगारेर सत्ताको स्वार्थमा लागेको आरोप लगाउने गरेका थिए। स्रोतले भन्यो,‘कमल थापाबाट धोका हुन सक्ने भएकाले महामन्त्री लिङ्देनलाई निर्मल निवासले नजिकबाट नियाँलेको छ। उसैलाई साथ रहने छ।’

तर निर्मल निवासका अधिकारीहरूले भने महाधिवेशनमा चासो दिए पनि यो वा त्यो उम्मेदवारलाई सहयोग गर्ने भन्ने कुनै रणनीति नहुने बताएका छन्। यद्यपि महाधिवेशनप्रति शुभेच्छा रहेको बताइन्छ।

राप्रपाको नयाँ नेतृत्वका लागि थापा र लिङदेन प्यानल बनाएर मैदानमा छन्।