बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केसी, बानियाँ र प्रधान मध्य कसले गर्ला बागमती कांग्रेसको कमान्ड?

बिहिबार, मंसिर १६ २०७८

काठमाडौं। नेपाली कांग्रेसको प्रदेश अधिवेशन विहीबारदेखि सुरु भएको छ। ७ प्रदेश मध्य केन्द्रमा प्रभाव राख्ने बागमती प्रदेशलाई निकै रोचक ढंगले हेरिएको छ।

कांग्रेसका तीन खेमाबाट सभापतिका लागि उम्मेदवार तयार भएका छन्। संस्थापनइतर समूहबाट कांग्रेस नुवाकोटका सभापति जगदिरनरसिंह केसीलाई उम्मेदवार बनाइएको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, गगन थापालगायतको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उक्त समूहले केसीको नाम प्रस्ताव समेत गरिसकेको छ।

तर कांग्रेसमा राम्रो प्रभाव राख्ने अन्य दुई जना पनि दाबेदार छन्। संस्थापन अर्थात् सभापति शेरबहादुर देउवाका तर्फबाट मकवानपुरका इन्द्र बानियाँ उम्मेदवार रहेका छन्।

‘उपत्यका भित्र वा आसपासको होइन त्यसभन्दा बाहेकका नेताले बागमतीको सभापति बन्ने अवसर पाउनुपर्छ’, देउवा निकट स्रोतले भन्यो।

यता पौडेल पक्षले भने कांग्रेसमा आफ्नो जनमत बलियो रहेका कारण केसीको जीत पक्कापक्की भएको दाबी गरेको छ।

उता पूर्वमहामन्त्री कृष्ण सिटौलाका पक्षबाट भने प्रभाव देखाएका काठमाडौंका नेता भिमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरेका छन्। पूर्व रक्षामन्त्री समेत रहेका प्रधानले उपत्यकामा प्रभाव राख्ने भएकाले उनको दाबेदारी पनि बलियो रहेको बताइएको छ।