काठमाडौँ l नेपाल राष्ट्र बैंकले भोलि बिहिबार २५ अर्ब रुपैयाँको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । मंसिर १६ गते अर्थात भोलि बिहिबार अपरान्ह दुई बजेसम्ममा २५ अर्ब रुपैयाँ बराबरको उक्त ट्रेजरी खरिद गर्न लागिएको राष्ट्र बैकले जनाएको छ ।
फागुन मसान्तसम्म भुक्तानी मिती तोकेर नेपाल सरकारको ट्रेजरी बिल्स सोझै खरिद गर्न लागिएको हो, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ भने काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ । उदाहरणको लागि एक सय रुपैयाँको ट्रेजरी बिल्स कति मूल्यमा विक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने छ ।
बोलकबोलमा संलग्न काउण्टरपार्टीले २०७८ मंसिर १६ गते विहिबार दिनको २ः१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति राष्ट्र बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको दुई दसमलव ५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा ब्याजदर कोरिडोर सम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने छ ।