एउटै प्रदेशमा २३ खर्ब ५२ अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह
काठमाडौँ l बाग्मती प्रदेशमा बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा लगानी दुुबै बढेको छ । नेपाल राष्ट्र बैकले मंगलबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिबिधि सम्वन्धी बाग्मती प्रदेशको प्रतिवेदन अनुसार यो प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७७ असार मसान्तको तुलनामा १९ दसमलव २८ प्रतिशतले बढेर २०७८ असार मसान्तमा ३२ खर्ब आठ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यो निक्षेप गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९ दसमलव ७७ प्रतिशतले बढी हो ।
यसैगरी २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले बाग्मती प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा २८ दसमलव पाँच प्रतिशतले वृद्धि भई २३ खर्ब ५२ अर्व ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९ दसमलव सात प्रतिशतले बढेको थियो । २०७८ असार मसान्तमा कर्जा निक्षेप अनुपात ७३ दसमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६८ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशका औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा २५ दसमलव सात प्रतिशतले बढेर आठ खर्र्ब ९६ अर्ब ४२ करोड पुगेको छ ।
गत वर्ष यस्तो कर्जा २२ दसमलव आठ प्रतिशतले वृद्धि भई सात खर्र्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार बाग्मती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३७ दसमलव सात प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी सात खर्ब ७१ अर्ब छ करोड अर्थात ८६ प्रतिसत कर्जा लगानीमा रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम ४६ करोड कर्जा अर्थात शुन्य दसमलव एक प्रतिसत कर्जा लगानीमा रहेको छ ।
कुल औद्योगिक कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ४१ दसमलव एक प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम खानी उत्पादन सम्बन्धी उद्योगमा १४ दसमलव आठ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, विद्युत, ग्यास तथा पानीमा ३२ दसमलव पाँच प्रतिशतले, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ३७ दसमलव सात प्रतिशतले, निर्माणमा १९ दसमलव एक प्रतिशतले र गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा २० दसमलव आठ प्रतिशतले कर्जा बढेकोे छ ।