काठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशनले नयाँ नेतृत्व स्थापित गरेको छ। अध्यक्षमा भिम रावल, उपाध्यक्षमा घनश्याम भुसाल तथा सचिवमा भिम आचार्यको पराजय भए पनि प्रतिनिधिले माओवादीबाट आएका नेतालाई जिताएर परिपक्वता देखाएका छन्।
तत्कालिन नेकपामा विवाद हुँदा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका रामबहादुर थापा बादललाई उपाध्यक्ष, टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिव तथा प्रभु साहलगायतलाई केन्द्रीय सदस्यमा जिताइएको छ।
अधिक मतले जित हासिल गरेका अध्यक्ष ओलीले अब स्थायी कमिटी गठनका बेला साहसहित मणि थापालाई स्थायी कमिटीमा तान्नेछन् भने केन्द्रीय सदस्यमा जितेका पूर्वमाओवादीका कतिपय नेतालाई पोलिटव्युरोमा समावेश गरिनेछ।
महाधिवेशनले रावल र भुसालबाहेक १० बुँदे समझदारीका अन्य नेतालाई पनि जिताएको छ। उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई जिताएर १० बुँदे सहमतिलाई पनि निचोड दिएको धेरैको बुझाई छ।
‘अध्यक्ष र उपाध्यक्षमा दुई जना बाहेक सबै तहमा हर प्रकारका समझदारीलाई प्रतिनिधिले अनुमोदन गरेका छन्, यसले एकता महाधिवेशनको मर्मलाई स्थापित गरिदियो’, एक नेता भन्छन्,‘अब अध्यक्षले रावल र भुसाललाई पनि समावेश गरी पार्टीलाई एक ढिक्का बनाउनुहुनेछ।’
महाधिवेशनमा प्रतिनिधिले परिपक्व निचोड दिएको बुझाई छ। ‘एक कार्यकाल अझ अध्यक्षमा जिताएर एमालेको नेतृत्वमा देश बनाउने संकल्प गरिएको छ’, ति नेता भन्छन्,‘र, यो संकल्पले मूर्तरुप लिनेछ।’