काठमाडौं। नेकपा एमालेको भविष्यको नेतृत्व गर्नेगरी महासचिव पदमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्। विधान महाधिवेशनले तय गरेको एक मात्र बरिष्ठ उपाध्यक्षमा महासचिवबाट फड्को मारेका ईश्वर पोखरेल निर्विरोध भएका थिए।
ईश्वर पोखरेलले उमेरको हदबन्दीका कारण अध्यक्ष बन्ने मौका पाउने सम्भावना छैन तर शंकर पोखरेल भने भविष्यका नेतृत्वकर्ता हुनेगरी महासचिवमा निर्विरोध भएका हुन्।
विद्यार्थी राजनीतिबाट एमालेको मूल राजनीतिमा अध्यक्ष केपी शर्मा ओलीको बचाऊ गर्दै उदाएका शंकर उत्तराधिकारीका रुपमा पनि स्थापित हुने लयमा छन्। उनलाई ओली खेमाको एक वैचारिक नेताका रुपमा पनि मानिन्छ।
नवौं महाधिवेशनमा उपमहासचिव पदमा पराजित उनले महासचिवका लागि दाबेदारी कायम गरेका थिए। आठौं महाधिवेशनमा भने उनी सचिव निर्वाचित भएका थिए।
‘एमालेको वैचारिक धारदेखि संस्थापनलाई बलियो बनाउनका लागि शंकर पोखरेलको भूमिकालाई प्रशंशा गरिन्छ’, एक नेता भन्छन्,‘उनी भावी अध्यक्षका दाबेदार हुन्। विधान महाधिवेशनले तय गरेको उमेर हदबारे कुनै निर्णय नभए आगामी महाधिवेशनबाट अध्यक्ष नै हुनेछन्।’