काठमाडौं । सर्वसम्मतिको नाममा पदाधिकारी सहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने भएपछि, एमाले महाधिवेशनमा अध्यक्ष पदमा पनि निर्वाचन हुने भएको हो ।
अध्यक्ष ओलीले गएको मध्यरातसम्म सहमतिको कोशिस गरेपनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफु सहमत हुन नसक्ने भन्दै रावलले आपत्ति जनाएपछि, ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो ।
नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । तर ओलीको आग्रहलाई रावलले ठाडै अस्विकार गरेका हुन् ।
रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव हुन लागेको हो ।
निर्वाचन प्रक्रिया हिजै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ ।
आज बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । रावलले उम्मेदवारी दर्ता गराउन राति नै फारम भरिसकेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाअनुसार सहमतिका लागि प्रस्तावित सूचिमा नाम भएका वा अरूले पनि सोमबार विहान ८ देखि ९ बजेसम्म फारम लिएर साढे ९ बजेसम्म बुझाइसक्नुपर्नेछ । त्यसपछि बाँकी प्रक्रिया अघि बढ्छ,’ उनले भने ।