बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेको मञ्च नउक्लिने प्रचण्डको निर्णय, सोही दिन हेलिकोप्टरबाट काभ्रे पुग्दै

शुक्रबार, मंसिर १० २०७८

काठमाडौं । आफ्नै निर्वाचन क्षेत्रमा एमालेले महाधिवेशन गरिरहदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने काभ्रेको डाडापारी पुग्ने भएका छन् ।

आफ्नै इलाकामा कट्टर आलोचक मानिएका एमाले अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशन गर्ने घोषणा गरेसँगै तनाबमा परेका अध्यक्ष दाहाल एमालेको महाधिवेशन छल्न काभ्रे पुग्ने भएका हुन् ।

उनी काभ्रेको महाभारत र खानीखोलामा हुने गाउपालिका सम्मेलन उद्घाटन गर्न त्यहा पहिलोपटक जान लागेका हुन् । सो क्षेत्र माओवादीको पकड रहदै आएको थियो ।

दुबै गाँउ विकट भएकाले दाहाल हेलिकोप्टर मार्फत त्यता पुग्ने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयले महाधिवेशनमा सहभागिताका लागि दाहाललाई दुई साताअघि नै खुमलटार पुगेरै निम्ता बुझाएको थियो । सोही निम्तो मान्नु पर्ने भएपछि दाहाल  पार्टीको कार्यक्रम बनाएर काभ्रेको गाँउ जाने  तयारीमा छन् ।

धेरैले ओली र दाहालले एउटै मञ्च कसरी सेयर गर्लान् भनेर चासोका साथ हेरिरहेका बेला दाहालले एमाले महाधिवेशनमा नजाने मुड बनाएका हुन् ।

खुमलटार श्रोतका अनुसार अहिले साँझसम्म पनि दाहालको चितवन जाने कार्यतालिका बनेको छैन । खुमलटारका अनुसार एमालेको महाधिवेशन उद्घाटनकै दिन काभ्रेका दुईवटा गाउँपालिकाको कार्यक्रम तय भइसकेको छ ।   जिल्ला प्रहरी कार्यालय काभ्रेमा पनि दाहाल शुक्रबार काभ्रे पुग्ने सूचना पुगिसकेको छ ।

सोही बमोजिम प्रहरी कार्यालयले दाहालका लागि डाँडापारिका गाउँमा सुरक्षा तयारी गरिसकेको जनाएको छ।

पछिल्लो समय दाहाल पार्टीका कार्यक्रममा देश दौडाहामा छन् ।

ओलीले चितवनमा पार्टीको महाधिवेशन उद्घाटन गरिरहदा दाहालले भने दुईवटा गाउँकमिटीको सम्मेलन उद्घाटन गर्ने तयारी गरेका हुन् ।