काठमाडौँ । १०औं महाधिवेशनमा केन्द्रीत भएको नेकपा एमालेमा अनेक नेताको प्रकारान्तरले चर्चा चलिरहँदा उपाध्यक्ष बामदेव गौतम किनारा लागेका छन्।
विधान महाधिवेशनले उमेर हद ७० बर्षको सीमा कायम गरेपछि गौतमको सांगठनिक सान्दर्भिकता यसै पनि सकिएको थियो।
तर ज्येष्ठ नेताका रुपमा उनलाई सल्लाहकार समितिमा राख्न सकिने थियो। उनले उक्त अवस्थामा बस्न सक्ने भए पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई आफूले अस्वीकार गरेको बताएका छन्।
माओवादीसँग एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी हुँदा गौतमको भूमिका सक्रिय र प्रभावकारी थियो। उनी सचिवालयमा थिए भने विधान नै संशोधन गरी उपाध्यक्ष पदमा पनि राखिएको थियो।
तर नेकपा विभाजन भएपछि भने गौतम न्युट्रल रहेपछि उनी राजनीतिदेखि ओझेलमा परेका थिए। उनी पार्टी एकीकरणको लागि भनेर अभियान चलाएका थिए।
‘गौतमको स्वार्थका कारणले पनि नेकपा विभाजनको अवस्थामा पुगेको थियो। यसैले उनलाई एमालेले खासै महत्व दिएन भने एमाले विभाजन भई बनेको एकीकृत समाजवादी र माओवादीले पनि खासै चासो दिएन’, एक नेताले भने,‘एमाले एकीकरण गर्ने भनेर सक्रिय रहेका थिए तर उनका प्रयास पनि सफल भएनन्।’