काठमाडौँ । खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ । नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन् । तर, त्यो नगण्य मात्र छ । अधिकांश खेलमा पुरुषकै वर्चस्व छ ।
निजी क्षेत्र मात्र होइन, सरकारी निकायले दिने पारिश्रमिकमा महिला र पुरुषबीच विभेद हुने गरेको छ । यसबाहेक पुरस्कार राशिदेखि अन्य सेवा सुविधासम्म पनि असमान देखिन्छ ।
यसलाई राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताले नै छर्लङ पार्छ । पुरुषतर्फ विजेतालाई नगद पुरस्कार २० लाख रुपैयाँ छ । महिलातर्फ भने ५ लाख मात्रै छ । पुरुषतर्फ उपविजेताले १० लाख पाउँदा महिलातर्फ ३ लाख रुपैयाँ छ ।
परिषद्की कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल सेवासुविधाको असमानताबारे अहिलेसम्म उजुरी नआएको बताउँछिन् । ‘महिला र पुरुष खेलाडीबीचको सेवासुविधामा असमानता छन् । यस विषयमा अहिलेसम्म कसैले पनि आवाज उठाएका छैनन्’, कार्यकारी बोर्ड सदस्य बस्याल भन्छिन्, ‘यस विषयमा टिम प्रशिक्षक र व्यवस्थापकले पनि आवाज उठाउनु पर्छ ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ खेलकुदमा महिलाको बढ्दो सहभागिता र सफलताले विभेद कम भएको बताउँछन् । ‘खेलकुदमा महिला र पुरुष खेलाडीबीचको विभेद पहिले धेरै हुन्थ्यो । पछिल्लो समय महिलाको सहभागिता र सफलताले विभेदको अनुपात कम भएको छ’, अध्यक्ष श्रेष्ठ भन्छन्, ‘महिला र पुरुषले पाउने पदक समान हुन्छ । पदकमा भेदभाव हुँदैन । तर, सेवा सुविधा र पुरस्कार राशिमा भेदभाव गरिँदै आएको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ l