शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

रेडियोबाट राप्रपा, एमाले सांसदपछि केन्द्रीय सदस्यमा कोमलको दाबेदारी

मंगलबार, मंसिर ७ २०७८

काठमाडौं। सञ्चारकर्म हुँदै गीत संगित र राजनीतिमा सक्रिय छिन् कोमल वली। दाङकी वली केही समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य बनिन्।

९ असोज ०७४ मा नेकपा एमालेमा प्रवेश गरेकी उनलाई उपहार स्वरुप राष्ट्रिय सभा सदस्यका रुपमा निर्वाचित गराइयो। एमालेमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेर देखिएकी उनी १०औं महाधिवेशनमा केन्द्रीय सदस्यको पदका लागि दाबेदारी प्रस्तुत गर्दैछिन्।

चितवनमा हुने महाधिवेशनमा सबै तयारी पूरा गरेकी वली रेडियो नेपालमा जागिरे थिइन्। समाचार वाचिकाका रुपमा प्रवेश गरेकी उनी लोक गीत गायनमा पनि चर्चामा आएकी पात्र हुन्। खासगरी तिजका गीतमा उनको खुबै चर्चा हुने गरेको छ।

अभिनेत्री रेखा थापासँगै राप्रपाको राजनीतिमा लागेकी उनी पछिल्ला चार बर्षसम्म एमालेमा सक्रिय छिन्। नेकपा विभाजनको बेला अध्यक्ष ओली खेमामा लागेका बेला रघुजी पन्तको एउटा भनाईका कारण उनले मुद्दामामिला पनि गर्नुपरेको थियो।

उक्त विवाद अहिले साम्य भए पनि वलीको राजनीतिक चर्चा भने कम छैन। उनलाई जान्नेहरू भन्छन्,‘एमालेमा सक्रिय राजनीति गर्नेगरी अगाडि बढ्नुभएको छ।’

वलीलाई एमालेका तत्कालिन उपाध्यक्ष बामदेव गौतमले पार्टीमा स्वागत गरेका थिए। वली अविवाहित छिन्।