काठमाडौं। भारतीय जनता पार्टी निकट रहेका योगगुरु रामदेवले सञ्चालन गर्न लागेको पतञ्जली उद्योगका लागि नेपाल सरकारले जग्गा दिने भएको छ। रामदेव उपस्थित एउटा सभामा लर्को लागेर पुगेका सत्ता गठबन्धनका नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतले घोषणा गरेका हुन्।
नेपालमा भूमीहिनका लागि जग्गा छुट्याउन र आवास निर्माणका लागि बनेको सुकुम्बासी समस्या निवारण आयोग खारेज गरेको सत्ता गठबन्धनले उपेन्द्र महतोसमेतको सहभागीता रहने उद्योगका लागि निशुल्क जग्गा उपलव्ध गराउन लागेको हो। व्यावसायी लाभका निम्ति खोलिने उद्योगका लागि सरकारले यस्तो निर्णय गर्नु भारतीय जनता पार्टी र भारत सरकारसँग लम्पसार परेको रुपमा पनि बुझिएको छ।
त्यसो त बाबा रामदेवसँग नै सत्ता गठबन्धनका चण्डमुण्ड नेताहरू लम्पसार परेको दृश्य देखिएको थियो। रामदेवले आस्था र पतञ्जली टिभी उद्घाटनका क्रममा उनीहरूको लम्पसारवादी चरित्र उदाङ्गो भएको थियो। जहाँ प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने उपस्थित भएनन्।
‘यो सरकार कसरी र कहाँबाट बनेको छ, कसका पाउमा यसको चाबी छ भन्ने उदाहरण त्यहि दृश्यले देखाउँछ’, उच्च स्रोतले भन्यो,‘नक्सा, नेपाली भूमी, लिपुलेक लिम्पियाधुरालगायतका विषयमा यो सरकार नबोल्नुको कारण पनि खुलेन र?’
भारतीय संस्थापनले ओलीलाई जसरी पनि सत्ताबाट हटाउने रणनीति अपनाएको थियो। जसका लागि प्रचण्ड बारम्बार नयाँ दिल्ली पुगिरहेका थिए। उता रामदेव प्रचण्डको घरमा पुग्नु र सार्वजनिक कार्यक्रममा प्रचण्डले रामदेवलाई क्रान्तिकारी भनेर सम्बोधन गर्नुले पनि स्पष्ट संकेत गरेको उच्च स्रोतहरूको दाबी छ।
‘नारायण पोखरेलको हत्या गरी क्रान्तिकारी भनेर माओवादी युद्ध चलाएका प्रचण्डले रामदेवलाई क्रान्तिकारी देख्नुको पछाडि कुन रहस्य छ?’, उच्च स्रोतले प्रश्न ग¥यो,‘सत्ता राजनीतिमा भारतीय संस्थापनसँग लम्पसार परी यो गठबन्धन निर्माण भएको हो।’
आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी गठबन्धन गरी दुई तिहाई नजिकको मत ल्याउँदा नै ओलीलाई प्रधानमन्त्री नबनाउन प्रचण्डलाई दबाब दिइएको थियो। नाकाबन्दीका बेला ओलीले भारतीयसँग घुँडा नटेकेका कारणले उक्त गठबन्धन भत्काउन भारतीय प्रयत्न जारी थियो। तर, एमालेसहितको नेकपा बनाई त्यसको नेतृत्व गर्ने प्रचण्डको स्वार्थका कारणले त्यसबेला ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।