शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माओवादी केन्द्रमा शक्तिशाली उत्तराधिकारी विप्लव!

सोमबार, मंसिर ६ २०७८

काठमाडौं। सभामुख पदमा रहँदा रोशनी शाही प्रकरणसँगै राजनीतिक जीवन समेत ओरालो लागेका कृष्णबहादुर महरा नेकपा माओवादी केन्द्रका उत्तराधिकारीका रुपमा हेरिएका थिए। तर, हाल प्रवक्तामा मात्र सीमित रहेका महरालाई जनार्दन शर्मा प्रभाकर र बर्षमान पुन अनन्तले माइनस गरी आफूलाई अगाडि बढाए।

उनीहरूको साख गिराउँदै माओवादी केन्द्रमा नयाँ अनि शक्तिशाली संगठन भित्राउने प्रस्ताव लिएर महरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ पुगेका थिए। उनले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने प्रस्ताव लगेपछि चरणबद्धरुमा छलफल चलेका छन्।

‘पूर्वमाओवादी र छिन्न भिन्न अवस्थामा रहेका सबैलाई समेट्नेगरी नै छलफल चलेका छन्। सोही शिलशिलामा विप्लवसँग कुराकानी भएको हो’, स्रोतले भन्यो,‘माओवादीमा प्रचण्डपछि बलियो र तगडा नेताको खोजी छ र त्यो गुण विप्लवमा मात्रै देखियो।’

प्रचण्डसँग राजनीतिक रुपमा धेरै मतभेद नभए पनि विप्लवले अलग पार्टी र संरचनालाई एउटा बलियो ढाँचाका रुपमा स्थापित गरेका छन्। आक्रामक र संगठनात्मक चरित्रअनुसार अघि बढेका विप्लवको प्रचण्डसँग पारिवारिक सम्बन्ध भने बलियो रहेको छ।

हालैमात्र प्रचण्डसँगका वार्तामा विप्लव पार्टी एकताका लागि सकारात्मक छन् तर तत्कालै निर्णय गर्ने भन्ने सन्दर्भमा भने उनको रिजर्भेशन रहेको बताइएको छ। अहिले सहकार्यको प्रस्तावलाई मूर्त रुप दिने र पछि एकतासम्म जाने बताइन्छ।

महराको भूमिका

माओवादी केन्द्रमा दोस्रो बलियो लिडर नभएपछि नेपथ्यमा महराले विप्लवलाई समाहित गर्ने भूमिकालाई अगाडि सारे। उनले निवासमा र बाहिर पनि विप्लवसँग निरन्तर वार्ता गरेका थिए।

अर्कोचाहिँ प्रचण्डसँग फरक मत राख्ने र बलियो संगठन निर्माण गर्ने पार्टीभित्र समानान्तर संगठक नभएका कारण पनि विप्लवको प्रवेश अनिवार्य रहेको महराको ठहर थियो। अहिले माओवादीमा प्रचण्ड एक्ला नेताका रुपमा स्थापित छन्, उनीसँग फरक मत राख्न सक्ने हिम्मत अन्यले गरेका छैनन्।

‘पार्टी भनेको विचार र विमर्श अनि नीतिमा पनि बहस हुनुपर्ने थलो हो, त्यसका लागि पनि विप्लवलाई एकता प्रक्रियामा ल्याउन आवश्यक छ’, एक नेता भन्छन्,‘उनीसँग विचार मात्र छैन, विचारलाई कार्यान्वयन गराउन सक्ने खुबी पनि छ।’