बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रावलले एमाले अध्यक्ष लड्ने घोषणा गर्नुको भित्री कथा व्यथा

सोमबार, मंसिर ६ २०७८

काठमाडौं। केही दिनपछि चितवनमा सुरु हुन लागेको नेकपा एमालेको १०औं महाधिवेशनमा उपाध्यक्ष भिम रावलले अध्यक्षमा लड्ने घोषणा गरेका छन्।

रिपोर्टस् क्लवबाट उनले गरेको यो घोषणाले एमालेमा अध्यक्ष केपी शर्मा ओली निर्विरोध र सर्वसम्मत अध्यक्षमा पुनः निर्वाचित हुने सम्भावनालाई रोकेको छ।

रावलले बरिष्ठ उपाध्यक्षमा दाबी गरेका थिए। तर उक्त पदमा अध्यक्ष ओलीलाई सहयोग गरेका महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङको दाबी परेको छ। दुई मध्ये एक जनालाई बरिष्ठ उपाध्यक्ष कायम गर्ने तयारी ओलीले गरेका छन्।

एकताको महाधिवेशन भनिएका कारण उपाध्यक्षमा माओवादीबाट समाहित भएका रामबहादुर थापा बादल, महिलामा अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल वा नेम्वाङलाई पनि राख्ने तयारी रहेको छ।

यस्तै, एक महासचिवमा शंकर पोखरेल वा विष्णु पौडेलको नाममा सहमति खोजिनेछ। त्यसो हुन नसके पौडेललाई उपाध्यक्षमा तानेर पोखरेल वा उनलाई उपमहासचिवमा सहमति गराई सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने तयारी भएको छ।

पदाधिकारीमा पनि रावललाई स्थान नहुने भएपछि उनले अध्यक्षमा लड्ने निर्णय गरेका हुन्। ‘सहमतिको महाधिवेशन गर्ने भनिएको र पद पाउने अवस्था नरहेपछि उपाध्यक्ष भइसकेका कारण अध्यक्षको उम्मेदवारी घोषणा भएको हो। कुनै पदमा सहमति भए त्यसमा रावल रहने सम्भावना छ’, स्रोतले भन्यो।

अध्यक्ष ओलीले भने पदाधिकारी रहीसकेका र आफूइतर समूहमा रहेर असहयोग गरेका कतिपय एमालेका पदाधिकारीलाई स्थायी कमिटीमा मात्र सीमित गर्ने तयारी गरेका छन्।

माओवादीबाट आएका नेतालाई पनि सहमति गर्नुपर्ने र पदाधिकारीमा तान्नुपर्ने भएकाले ओलीको उक्त भनाईसँगै रावलले अध्यक्षमा दाबेदारी घोषणा गरेका हुन्।