काठमाडौं । नेपाली कांग्रेसको सभापति पद एक कार्यकाल भए पनि चलाउने तयारीअनुसार फेरि शेरबहादुर देउवासँग भिँड्न लागेका बरिष्ठ नेता रामचन्द्र पौडेलको सपना अधुरो हुने लगभग लक्षण देखिएको छ।
उनले देउवाइतर खासगरी कोइराला परिवारको लिगेसी (वारेसनामा) आफूमा रहेको दाबी गरे पनि अवस्था सहज नरहेको विश्लेषण गरिएको छ। खासगरी कोइराला परिवारबाट नै सभापतिका लागि दुई जना उम्मेदवार तय रहेको र त्यसमध्ये एक जनाको नाममा सहमति जुटाइने भएको छ। महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका लागि तयार छन्।
अर्कातिर पौडेललाई धक्का लाग्ने कारण प्रकाशमान सिंह पनि सभापतिका लागि मैदानमा उत्रिने भएका छन्। कोइराला खेमा भनिएको देउवाइतरको समूहमा पौडेललाई पत्याउन नसकिने भएपछि उनले सभापति जित्ने सम्भावना कम रहेको छ। उपत्यकाबाहिर कोइराला परिवारको दबदबा रहेको छ भने भित्र सिंहको वर्चश्व। यसले पौडेललाई सभापति पदका लागि तयार हुने अवस्था नै नबन्ने निश्चितप्रायः रहेको छ।
कांग्रेसमा दोस्रो पुस्ताले हस्क्षेप गर्नुपर्ने आवाज पनि पौडेलका लागि निक्कै घोचक साबित हुने एक नेता बताउँछन्। उनी भन्छन्,‘कांग्रेसले परिवर्तन चाहेको छ पुराना नेतालाई जिताएर होइन, पुस्ता हस्तान्तरण गरेर मात्र कांग्रेस सबल हुनेछ।’
कोइराला परिवारको वारेसनामा आफूसँग भएको दाबी गरे पनि पौडेललाई त्यहि परिवारले पत्याएको छैन। शेखर र शशांक मिलेर उनलाई सभापतिमा नलड्न सुझाव दिइसके भने सुजाताले कुनै हालतमा सहयोग नगर्ने सार्वजनिक घोषणा गरेकी छन्। त्यतिमात्र होइन, पौडेल त सभापति देउवा भन्दा पनि कमजोर र संगठनहिन, नेतृत्व कौशलता र क्षमता नभएका व्यक्तिका रुपमा सुजाताले टिप्पणी गरिसकेकी छन्।
विभिन्न जिल्ला सभापतिहरु देउवाइतर रहेका कारण पौडेलको पक्षमा देखिए पनि उक्त समूहभित्रको विभाजनमा बाँडिनेछन्। त्यसो हुँदा पौडेलको सपना लगभग सम्भावनाशुन्य हुने देखिएको छ।