काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतार विरुद्धको तीन खेलको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला क्लिन स्विप गरेको छ । नेपालले पहिलो पटक, अन्तर्राष्ट्रिय क्रिकेट स्वीप गरेको हो ।
दोहामा आज भएको अन्तिम टी–ट्वेन्टीमा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३–० ले कब्जा गरेको हो । नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले हराएको थियो ।
आज नेपालले दिएको १ सय ६५ रनको चुनौती छ्याउने क्रममा घरेलु कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्रै जोड्न सक्यो । नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले एकेक विकेट लिइन् । पहिले ब्याटिङ गरेको नेपालले, सीता राना मगरको नट आउट ८२ रनसँगै २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल बनाएको थियो । टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालले बनाएको हालसम्मकै उच्च योगफल हो । सिताले ७२ बलमा ७ चौका सहित ८२ रन बनाइन् । सिताको यो पहिलो टी–ट्वेन्टी अन्तराष्ट्रिय अर्धशतक हो ।
आईसीसी महिला टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारीका लागि, नेपालले कतारसँग तीन खेलको टी–ट्वेन्टी सिरिज खेलेको हो ।
विश्वकप छनोट यही नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुनेछ । नेपाली टोली भोलि कतारबाटै दुबई जानेछ । छनोटमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागि हुनेछन् ।