काठमाडौं । कतारलाई लगातार दुई खेलमा हराउँदै, नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला जितेको छ ।
दोश्रो खेलमा कतारलाई ६१ रनले हराउँदै नेपालले श्रृंखला कब्जा गरेको हो ।
हिजो पहिलो खेलमा नेपालले कतारमाथि ११९ रनको फराकिलो जित निकालेको थियो ।
नेपालले अब अन्तिम खेल भोलि खेल्नेछ । आज दोहामा पहिले ब्याटिङ गरेको नेपालले, कप्तान रुबिना क्षेत्रीको ५० रनसँगै निर्धारित ओभरमा, १२९ रन बनाएको थियो ।
रुबिना, टी–२० अन्तर्राष्ट्रियमा, अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी पनि बनेकी छन् ।
हिजो ईन्दु बर्माले ५५ रन बनाएकी थिइन् । आज कतार ६८ रनमै समेटिएको हो । कतारलाई ६८ रनमै समेट्न सरस्वती कुमारीले ४ विकेट लिइन् ।
नेपाल एशिया छनोटको तयारीका लागि कतार गएको हो ।
एशिया छनोट प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि सुरु हुँदै छ। त्यहाँ नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईको सामना गर्नेछ।
सो प्रतियोगिताको शीर्ष टोली विश्वकपको ग्लोबल क्वालिफायर खेल्नका लागि छनोट हुनेछ ।