काठमाडौं । टी–२० एसिया छनोटको तयारी स्वरूप कतारसँगको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टीमले १ सय १९ रनको शानदार जित निकालेको छ ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको कतारको राष्ट्रिय महिला टोली ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर जम्मा २७ रनमा समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका रुबिना क्षेत्रीले तीन विकेट , कविता कुँवर र सीता रानमगरले दुई दुई तथा करुणा भण्डारीले एक विकेट लिए ।
त्यसअघि दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टास हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
नेपाल आईसीसी वुमन्स टी–२० एसिया छनोटका खेल खेल्न मंसिर ३ गते युएई जानेछ । पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ भने मंसिर ७ गते भुटान र ९ गते कुवेतसँग खेल्ने तालिका छ ।