बीमा शुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि
काठमाडौँ l सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७८÷०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष एक सय ११ दसमलव ४० प्रतिसतले वृद्धि भएर चार अर्ब २४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत आ. व. को सोही अवधिमा कम्पनीको जीवन बीमा कोष दुई अर्ब ८२ लाख रहेको थियो ।
जीवन बीमा कोषको वृद्धिसंगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमा समेत शतप्रतिशत वृद्धि गर्न सफल भएको छ । गत आ. व. को आश्विन मसान्तसम्ममा कुल बीमा शुल्क ६२ करोड आठ लाख रुपैयाँ संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा एक अर्व २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिसतले बढाएर ८५ करोड तीन लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
यसका साथै कम्पनीले लगानी, बीमा लेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी १६ करोड ५१ लाख रुपैयाँ पु¥याएको छ । जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम छ अर्व ८९ करोड मध्ये करिब ७२ दसमलव ४७ प्रतिसत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।
हरेक विषम परिस्थितिलाई अवसरकोरुपमा लिदै आगामीदिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।