काठमाडौँ । ब्यापारी तथा व्यवसायी महामारीको चपेटामा परेका बेलामा बैंकहरुले भने खराब कर्जा घटाएका छन् । व्यवसायीलाई दवाव दिएर असुल गरेको किस्ता र ब्याजसँगै राष्ट्र बैंकले दिएको नियामकिय छुटका कारण बैंकहरुको खराब कर्जा घटेको देखिएको हो ।
चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो त्रैमासमा बैंकहरुले खराब कर्जा घटाएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निष्क्रिय कर्जा घटेको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात औसतामा १ दशमलव पाँच नौ प्रतिशत थियो । तर यो आर्थिक वर्षको असोज मसान्तसम्म यो घटेर १ दशमलव एक छ प्रतिशतमा झरेको छ ।
सबैभन्दा कम निष्क्रिय कर्जा सानिमा बैंकको देखिएको छ । त्यसैगरि सबैभन्दा धेरै सरकारी स्वामित्वको राष्ट्रिय बैंकको भने खराब कर्जा २७ बैंकहरुमध्ये सबैभन्दा बढि छ ।
निष्क्रिय कर्जा कम हुने दोस्रो नम्बरमा एभरेष्ट बैंक र तेस्रो नम्बरमा नेपाल एसबीआई बैंक देखिएको छ । एभरेष्टको निष्क्रिय कर्जा ०.२२ प्रतिशतबाट घटेर ०.१३ प्रतिशतमा झरेको छ भने नेपाल एसबीआईको ०.२५ प्रतिशतबाट ०.१७ प्रतिशतमा झरेको छ ।

