बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ

शुक्रबार, कार्तिक २६ २०७८

काठमाडौँ l मकवानपुरको मनहरी गाउँपालिका–९ जयसिंहस्थित सडकबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजा सहित राक्सीराङ गाउँपालिका–२ बस्ने ४२ वर्षीय नर बहादुर मुक्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सडक किनारामा मुक्तानलाई शंकास्पद सामानको सुरक्षा गरी बसिरहेको अवस्थामा फेला पारी  जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका–८ सिमलचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल र फेनेरागन ७२ एम्पुल सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ नयाँबजार बस्ने लमजुङ दोर्दी गाउँपालिका–७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका–२ घर भएकी ३१ वर्षीया कोपिला अर्याल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारे धिमाल टोलबाट करिब १ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ५० हजार ४ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय सबिन लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।