काठमाडौं l दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बिष्णु आचार्यको कोही नबस्ने खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–११ बस्ने ३१ वर्षीय रोहित न्यौपाने लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ९८ हजार २ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।
तनहुँको आबुखैरेनी गाउँपालिका–१ समस्तिपुरस्थित क्वीन बि रेष्टुरेन्टमा कौडा खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही गाउँपालिका–१ बस्ने ३५ वर्षीय प्रकाश खनाल लगायत १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय आबुखैरनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १३ हजार १० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।