काठमाडौं । नामिबियाले आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डलाई पराजित गरेको छ ।
आबुधाबीमा नामिबियाले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको हो । यो सँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ ।
नामिबिया पहिलो पटक सुपर १२ प्रवेश गरेको हो ।
स्कटल्याण्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नामिबियाको जितमा जेजे स्मिथले अविजित रहदै ३२ रन बनाए । यस्तै क्रेग विलियम्सले २३ रन जोडे । माइकल भानले १८ तथा डाविड विएसले १६ रन बनाए ।
यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लास्कले ४४ रन जोडे । यस्तै क्रिस ग्रेभ्सले २५ रन जोड्दा म्याथ्यु क्रसले १९ रन बनाए ।
नामिबियाका रुबेन ट्रम्पेलमानले ३ विकेट लिए । जान फ्राईलिंकले २ विकेट लिए ।
जितसँगै समूह २ को नामिबियाले १ खेलमा २ अंक जोडेको छ ।
स्कटल्याण्डको यो लगातार दोस्रो हार हो ।