काठमाडौं l बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित काभ्रेपलाञ्चोक महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट नियन्त्रित लागूऔषध ६ हजार ट्याब्लेट नाइट्राभेट, ५४ एम्पुल नुर्फिन, ६४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–५ बस्ने ३० वर्षीय गोबिन्द थापा र सोही ठाउँ बस्ने २६ वर्षीय संजय थापा रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बा.९४ प ४२३५ नम्बरको स्कुटरलाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको भाईजर, ईन्जिन र फुटरेस्टमा राखी ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी मोटरसाइकल चालक गोबिन्द र मोटरसाइकलमा सवार संजयलाई पक्राउ गरेको हो ।
सिरहाको सिरहा नगरपालिका–१८ ईटारी टोलबाट नियन्त्रित लागूऔषध १ सय पिस फेनारगन, १ सय पिस डाइजेपाम र १ सय पिस नुर्फिन सहित अर्नामा गाउँपालिका–३ बस्ने २३ वर्षीय पप्पु दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको प्रहरीले स.४ प ७६०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक दासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।