बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन ६ महिनामै एमाले पार्टी कार्यालय थापाथलीबाट सारियो ?

सोमबार, कार्तिक ८ २०७८

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यालसलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिने भएको छ । गत वैशाखमा थापाथलीमा सारिएको कार्यालय प्रतिष्ठानको भवनमा सारिने भएको हो ।

थापाथलीस्थित एमाले कार्यालय बसेको घर व्यावसायी तथा अध्यक्ष केपी ओलीका विश्वासपात्र मोती दुगडका आफन्तको हो । व्यापारीको घरमा पार्टी कार्यालय राखेको भनेर आलोचना खेपेको एमालेले सत्ता बहिगर्मनसँगै पार्टी कार्यालय प्रतिष्ठानको भवनमा सार्ने निर्णय गरेको हो ।  

महासचिव ईश्वर पोख्रेलले कार्यालय स्थापनाका लागि प्रतिष्ठानसँग समझदारी भइसकेको बताए । थापाथलस्थित कार्यालय साँघुरो भएकाले केही समयदेखि पार्टीले बैठक र कार्यक्रमहरू च्यासलस्थित प्रतिष्ठानमा गर्नु परेको जिकिर गरेको छ । लामो समयदेखि बल्खुको मदननगरमा कार्यालय रहेको थियो ।

विसं २०७२ को भूकम्पमा सो भवन भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा कार्यालय सारिएको थियो । गत वैशाख ९ गते थापाथलीमा कार्यालय सारिएको थियो भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोही दिन मदननगरमा नयाँ भवनको शिल्यान्यास समेत गरेका थिए ।

तेह्र रोपनी क्षेत्रफलमा फैलिएको सो जग्गामा दुई वर्षभित्रमा भवन बनाइने बताइएको छ । मदननगरस्थित भवन २०५३ सालमा निर्माण गरिएको थियो ।

पार्टी विभाजनसँगै बल्खुको स्वामित्वका विषयमा नेकपा एकीकृत समाजवादीले पनि प्रश्न उठाएको छ ।