काठमाडौँ । नेकपा एमालेले देशभरका ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ । कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरोका कारण केही जिल्लाका वडा अधिवेश रोकिएपनि ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न भएको बताएका छन् ।
तामाङका अनुसार प्रारम्भिक रिपोर्टका आधारमा ६ हजार हाराहारी वडाको अधिवेशन शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।
एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप हिजो पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् ।
उपमहानगरपालिकाका वडामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाको वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुने विधानमा उल्लेख छ ।
तामाङका अनुसार बाँकी रहेका करिब साढे ७ सय जति वडाको अधिवेशन यहि हप्तामा सम्पन्न हुने छ ।
मुलुकमा ६ हजार ७ सय ४३ वडा छन् । देशैभरिका वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट एक साथ गरेका थिए ।
एमालेले कात्तिक ९ गते आगामी मंगलबार पालिका अधिवेशन गर्ने बताएको छ । नेपालमा ७ सय ५३ स्थानीय निकाय छन् ।
एमालेले आगामी महिनाको १० गतेदेखि १३ गतेसम्म चितवनमा १० औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।