काठमाडौँ । लगानीयोग्य रकमको अभाव चुलिन थालेपछि सोमबार देखि १८ वटा बैंक तथा वित्त संस्थाले निक्षेपको ब्याज बढाएका छन् । १० वटा बाणिज्य बैंकले भने आइतबार बैंकर्स एसोसिएसन्मा भएको सहमति लत्याउदै ब्याजदर १० प्रतिशत भन्दा बढि कायम गरेका छन् ।
बैंकका सिइओहरुको छाता सँगठन बैंकर्स एसोसिएसन्मा आइतबार बिहान बसेको बैठकले ब्याजदरलाई १० प्रतिशतको सिमामा राख्ने सहमति गर्याे । तर, सोमबार बिहानबाट लागू भएको ब्याजदरमा भने १० वटा बाणिज्य बैंकले १० प्रतिशत भन्दा माथि ब्याजदर दिने घोषणा गरे ।
लगानीयोग्य रकमको अभाव चुलिन थालेपछि बैंकहरुले ब्याजदर बढाएर एक अर्का बैंकको निक्षेप खोस्न थालेका हुन् । हिमालय बैंकले संस्थात निक्षेपकर्तालाई १ वर्षभन्दा माथिकोमा २७ बैंकहरुमध्ये सबैभन्दा बढि ब्याज अर्थात ११ दशमलव छ सात प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।
निक्षेपमा बढेको ब्याजले आगामी दिनमा कर्जाको ब्याज पनि बढाउने देखिन्छ । तर, बैंकरहरु भने आगामी दिनमा तरलता सहज भएमा कर्जाको ब्याज ठूलो मात्रामा नबढ्ने बताउँछन् ।
ब्यक्तिगत मुद्दति निक्षेपमा भने एनआइसि एसियाले ११ दशमलव १० प्रतिशत ब्याज दिने बताएको छ । जुन असोज महिनाको तुलनामा साढे २ प्रतिशत बढि हो । तर संस्थागत निक्षेपमा भने हिमालय बैंकले ३ दशमलव छ सात प्रतिशत बढेको छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष जस्ता सरकार नियन्त्रीत संस्था एक बैंकबाट अर्काे बैंक तान्ने बैंकहरुबिचको होडले ब्याजदर उकालो लाग्न लागेको छ । बाणिज्य बैंकहरुले ब्याजदरमा होडबाजी गरेपछि बिकास बैंकहरुको समेत ब्याजदर उकालो लागेको छ । यहि दरमा बैंकहरुबिच ब्याजदरमा प्रतिस्पर्धा भए उत्पादन लागत बढ्ने र सरकारले लक्ष्य राखेअनुसार आर्थिक बृद्धि हुन कठिन हुने बैंकरहरु बताउँछन् ।
कर्जाको ब्याजदर बढ्न नदिन अब सरकारले बिकास खर्च बढाउनु जरुरी छ । तर यति मात्रै ब्याजदर नियन्त्रणमा राख्न पर्याप्त नभएकाले बैंकहरुबिच ब्याजदरमा फेरी भद्र सहमति र त्यसको कार्यान्वयन पनि हुन जरुरी छ ।