बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पौडेल खेमाको सभापति को ?

मंगलबार, कार्तिक २ २०७८

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्नेको लस्कर लागेको छ। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा खेमाबाट अलग भएका उपसभापति विमलेन्द्र निधि सभापतिका आकांक्षी हुन्। 

यसबाहेक देउवा समूहमा अन्य दाबेदार देखिएका छैनन्। यसपटक भने बरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा धेरै दाबेदार देखिएका छन्। 

पौडेल आफैं सभापतिमा उठ्ने तयारीमा छन्। यसबाहेक महामन्त्री डा. शशांक कोइरालाले दाबी पेस गरेका छन्। उनी भन्छन्,‘मैले सभापतिभन्दा अर्को पदमा उठ्ने लक्ष्य राखेको छैन, नयाँ पुस्ता र नेपाली कांग्रेसलाई गति दिनका लागि मेरो निर्विकल्प उम्मेदवारी हुनेछ।’

शशांकसँगै उनका दाजु तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाको तयारी पनि सभापतिका लागि छ। उनी जिल्ला दौडाहामा लामो समय व्यस्त भए। सभापतिमा आफूलाई सहयोग गर्न भन्दै पौडेललाई उनले प्रस्ताव राखेका थिए। 

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिको दौडमा छन्। उनले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन्। कांग्रेसको नेतृत्व सँधैभरी उपत्यका बाहिरबाट मात्र भएको भन्दै पूर्वमहामन्त्री सिंह मैदानमा छिरेका हुन्।

‘देउवा समूहबाट निधि अलग भइसकेका छन्। उनको आफ्नो तयारी छ। तर, पौडेल समूहमा साझा उम्मेदवार हुने सम्भावना कम छ’, कांग्रेसका एक नेता भन्छन्,‘कोइराला परिवारबाट एक जना सहमतिको उम्मेदवार भए पनि सिंह र पौडेल आफैंले पनि नछाड्ने सम्भावना कम छ।’

धेरै जना सभापतिमा उठेको खण्डमा पहिलो चरणमा नै देउवाका जित निस्कन सक्ने प्रक्षेपण गरिएको छ। तर, पौडेल खेमाबाट साझा उम्मेदवार भएको खण्डमा दोस्रो चरणसम्म सभापतिको चुनाव हुने र त्यसमा निधिले सहयोग गरेमा देउवाको पराजय हुन सक्न पनि आँकलन गरिएको छ।