काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत आजदेखि ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
९१ दिन अवधिको ट्रेजरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने बिल आगामी वैशाख ६ गते र ३६४ दिने बिल अर्को सालको कात्तिक १ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले गत असोज २५ गते १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
ट्रेजरी बिलको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले भोलि ट्रेजरी बिल जारी गर्नेछ ।
के हो ट्रेजरी बिल ?
मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ । अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दै आएको छ ।
२८ दिने ट्रेजरी बिल त्यति प्रचलनमा आएको देखिँदैन ।