काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल महासंघ साफले आफू र नेपालमाथि अन्याय गरेको बताउदै प्रतिबन्ध विरुद्ध अपिल गर्ने बताएका छन् ।
प्रशिक्षक अल्मुताइरीले भर्चुअल पत्रकार सम्मेलन मार्फत आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपील गर्ने बताएका हुन् ।
समूह चरणका दुई खेलमा पहेँलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अब्दुल्लाहलाई टच लाइनमा प्रतिबन्ध लगाएको छ ।
यद्यपि, साफको प्रतियोगिता नियमावलीमा खेलाडीबाहेक अफिसियलको हकमा त्यो उल्लेख नभएको भन्दै प्रशिक्षक अब्दुल्लाहले प्रतिबन्धको आलोचना समेत गरेका छन् । साफले नेपाली प्रशिक्षकलाई हुँदै नभएको निमय लगाएर अन्याय गरेको र भारतीय टोलीसँग सन्तुलन बनाउनका लागि आफूलाई प्रतिबन्ध लगाएको मुख्य प्रशिक्षक अब्दुल्लाहको आरोप छ ।
प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेलो कार्ड पाएका थिए । जसको कारण साफले फाइनलमा उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिएको थियो ।
तर, साफको नियमावलीमा भने फरक खेलमा पहेलो कार्ड पाएका खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छ ।
साफको फाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।