काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्समा हुनेछ । आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।
आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ । नेपालले आज भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने देखिन्छ । आजको खेल नेपाललाई भारतसँग बदला लिने अवसर समेत हुनेछ ।
यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो ।
सन् १९९३ बाट सार्क गोल्डको नामबाट सुरु प्रतियोगिताले २८ वर्ष पार गरिसकेको छ । तर, नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म च्याम्पियन हुने अवसर पाएको छैन ।
माल्दिभ्समा जारी १३ संस्करणको साफमा भने नेपाललाई इतिहास रच्ने अवसर छ । तर साफमा भारतको एक्लो दबदबा छ । भारतले कीर्तिमानी ७ पटक साफको उपाधि जितिसकेको छ ।
नेपालले आज भारतलाई हराएमा पहिलो पटक साफको उपाधि जित्नेछ । जुन नेपाली फुटबलको ऐतिहासिक दिन हुनेछ । भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ ।
नेपालविरुद्ध भारतले १५ खेल जितेको छ ।
नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।