काठमाडौं । सिरहामा इनारभित्र एक युवक मृत भेटिएका छन् । जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारमा सिराह गोलबजार नगरपालिका ८ का २० वर्षीय शत्रुधन महतो आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।
स्थानीयका अनुसार मृतक महतो गएराति झिझिया नाच हेर्न नजिकैको नराहा गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा समेत भएको थियो । सो झगडामा महतोको संलग्नताका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।