काठमाडौं । अफगानिस्तानबाट झण्डै एक सय महिला फुटबल खेलाडीलाई उद्धार गरि कतारको दोहा पुर्याइएको छ । कतार सरकारले फुटबलको सर्वोच्च निकाय फिफासँग समन्वय गरेर उनीहरुलाई उद्धार गरेको जनाइएको छ ।
तालिवान सरकारमा आएसगै महिला खेलाडी असुरक्षित रहेको भन्दै फिफाले फुटबल खेलाडी तथा उनीहरुका परिवारका सदस्यलाई उद्दार गर्नु पर्ने बताउदै आएको थियो । गत अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि फिफाले फुटबल खेलाडी तथा उनका परिवारका सदस्यलाई उद्धार गर्ने प्रयास गरिरहेको छ ।
तालिवानले सत्ता कब्जा गरेपछि राष्ट्रिय टिमका पूर्व कप्तान खालिदा पोपालले नयाँ शासकबाट बच्न खेलाडीहरुलाई उनीहरुले फुटबल खेलेको तस्बीरहरु सामाजिक संजालबाट हटाउन तथा खेल सामाग्रीहरुलाई आगो लगाउन अनुरोध गरेकी थिईन् ।
तालिवानको आगमनपछि कयौं महिला फुटबल खेलाडीहरु लुकेर बसेको बताईन्छ । फिफा तथा खेलाडीहरुको संगठन फिफाप्रोले सहयोगका लागि धेरै राष्ट्रलाई पत्राचार गरेको छ ।