बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१२ अर्ब बराबरको नयाँ नोट सटही, आज साट्ने अन्तीम दिन

सोमबार, असोज २५ २०७८

काठमाडौँ । आइतबार साझसम्म नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको नयाँ नोट साटेको छ ।  यस्तो सटही सुविधा राष्ट्र बैंकले आज सोमबार सम्म दिने भएको छ ।

बिगतका वर्षहरुमा करिब १० अर्ब बराबरको नोट साट्ने गरेकामा यसपालि १२ अर्ब अहिले नै पुगिसकेको छ। आजसम्ममा यस्तो रकम करिब १५ अर्ब पुग्ने राष्ट्र बैंकको आकलन छ ।  

दसैँमा टिका लगाउँदा प्रयोग गर्नेगरि यस्तो नोट प्रतिब्यक्ति १८ हजार ५ सय सम्म सटही  गर्न सकिन्छ ।

राष्ट्र बैंकसँगै उपत्यकामा २७ वटा बाणिज्य बैंकका १० वटा साखाहरुबाट पनि नोट सटहि गर्न सकिन्छ । बैंकको आज कुन साखाले नयाँ नोट वितरण गर्दैछ भनेर जान्नका लागि सम्वन्धित बैंकको वेबसाइटमा हेर्नमिल्ने व्यवस्था गरिएको छ ।  यसरी नयाँ सटहीका लागि भनेर बैंक तथा वित्त संस्थाहरुले ६ अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकसँग सटही गरेर  लगिसकेका छन् ।

अन्य बैंकबाट पनि नयाँ नोट सटहि गर्न सक्ने व्यवस्था गरिएकाले  बिगतका वर्षहरुमा जस्तो राष्ट्र बैंकमा नयाँ नोट साट्नेको घुइचो भने यसपालि देखिएन । गत वर्ष त महामारीका कारण राष्ट्र बैंकले नोट सटहि नै गरेको थिएन । यसपालि राष्ट्र बैंकमा नोट सटहि गर्दा बिगतका  वर्षहरुमा जस्तो सास्ती खेप्नु नपरेको नोट साट्न आउनेहरु बताउँछन् ।  

दशैमा टिका लगाउँदा नयाँ नोट प्रयोग गर्ने प्रचलन छ  । तर टिका लगाउने  क्रममा नोटमा रङ र  पानी लाग्दा  नोट झुत्रो बन्छन् । नोेट झुत्रो भएपछि नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले वर्षमा ४० करोड बराबरको खर्चनु पर्छ ।  त्यसैले यस्तो खर्च कम गर्नका लागि नोटको प्रयोग गर्नेतर्फ आमजनता पनि सचेत हुन जरुरी छ ।

दसैँका समयमा नयाँ नोट, नयाँ कपडा र खाद्यान्न खरिदका  साथै भैपरि आउने खर्चका लागि भनेर सर्वसाधारणले बैंकबाट पैसा निकालेर राख्ने गर्छन् । जसका कारण दशैका समयमा बैंक तथा  वित्त संस्थाबाट ठूलो रकम आमसर्वसाधारणको खल्तीमा पुग्ने गरेको छ ।