शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधानन्यायाधीशका जेठानको राजीनामा लगतै सालोको नियुक्ति

आइतबार, असोज २४ २०७८

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्र हमाल आज मन्त्री नियुक्त हुँदैछन् । सुरेन्द्र हमाल तीन दिनअघि मात्रै संघीय सरकारमा उद्योगमन्त्री बनेका गजेन्द्र हमालका सहोदर भाइ हुन् ।

दाइ गजेन्द्र हमालले आजै मन्त्री पदबाट राजीनामा दिने तयारी गरिरहँदा उनका भाइ भने लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त हुन लागेका हुन् । ‘आइतबार दिउँसो २ बजे मन्त्रीमा सपथ हुने कार्यक्रम छ,’ सुरेन्द्र हमालले भने । सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका हुन् ।

चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।

‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।