काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको फुटेज सिसिटिभीमा कैद भएको प्रहरी नायब कार्कीको भनाई छ ।
आफन्तले भने प्रहरीले हत्या गरेको आरोप लगाउदै प्रदर्शन गरेका छन् । हिरासतभित्र केही सामग्री लैजान नपाउने हुँदा हकिवले हिरासतभित्रै पासो लगाएर आत्महत्या गरेको पत्याउन नसकिने भन्दै स्थानीयवासी आक्रोशित भएका हुन् ।
यसैबीच आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् ।
आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड अश्रुग्याससमेत फायर गरेको प्रहरीले जनाएको छ ।