बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वाग्मती प्रदेशसभाको अधिवेशन आजबाट, मुख्य मन्त्री शाक्यको भविष्य के होला ?

आइतबार, असोज २४ २०७८

काठमाण्डौ । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजदेखि सुरु हुने प्रदेश सभाको नवौँ अधिवेशनमा विश्वासको मत लिने भएकी छन् ।
शाक्य उपाध्यक्ष रहेको नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि उनी अल्पमतमा परिसकेकी छन् ।

अब उनका सामु कि त विश्वासको मत लिएर बहुमत पुष्टि गर्नु पर्ने छ या त राजिनामा गर्नु पर्ने छ ।   संविधानको धारा १८८ को उपधारा २  मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

एमालेका तर्फबाट शाक्य एकल बहुमतसहित  मुख्यमन्त्री बनेकी थिइन् । वाग्मती प्रदेशमा सभामुखसहित एक सय ९ सांसद छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । तर पाटी विभाजन अघि एमालेका ५६ सांसद रहेकोमा विभाजन भएपछि १३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजिसकेका छन् ।  

अहिले वाग्मती प्रदेश सभामा एमालेका ४३ सांसद छन् । गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् । उनीहरुले शाक्यलाई मत नदिने बताउदै राजिनामा गर्न माग गरिरहेका छन् ।

यी दलबाहेक विवेकशील साझा पार्टीको तीन, नेमकिपा दुई, राप्रपा दुई र स्वतन्त्र एक सांसद छन् । शाक्य गएको भदौ दुई गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । गठबन्धनबाट नयाँ मुख्यमन्त्रीका रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने तयारी छ । तर सहमती भने भइसकेको छैन ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुसँग परामर्श गर्न बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रदेश सभा सचिवालयमा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने सूचना पुगिसकेको छ ।