काठमाडौं । मुम्बई इन्डियन्स आईपीएल क्रिकेटबाट बाहिरिएको छ । गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ४२ रनले हराए पनि समान १४ अङ्क रहेको कोलकाता भन्दा कम रनरेट भएपछि मुम्बई बाहिरिएको हो । कोलकाता भने अघिल्लो चरणमा पुगेको छ । गएराति मुम्बईले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको हैदराबादले आठ विकेट गुमाएर एक सय ९३ रन मात्रै बनाउन सक्यो ।
अर्को खेलमा
आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । दिल्लीले दिएको एक सय ६५ रनको लक्ष्य बेङ्ग्लोरले तीन विकेट गुमाएर अन्तिम बलमा भेट्टायो । अन्तिम बलमा पाँच रन चाहिएकोमा बेङ्ग्लोरका शिखर भरतले छक्का हानेर टिमलाई जिताए ।
आईपीएलमा अब चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सले पहिलो प्लेअफ खेल्नेछन् । बेङ्ग्लोर र कोलकाताले इलिमिनेटरमा खेल्नेछन् ।